रोचक सामग्री


खोजी

Thursday, September 1, 2016

स्वास्थ्यमन्त्री गगन थापाको प्रस्ताव संसदमा पुग्यो, देउवादेखि ओलीसम्म मुछिए!

upchar

काठमाडौं, १६ भदौ । व्यवस्थापिका-संसद्को आजको बैठकमा पूर्व विशिष्ट व्यक्ति तथा शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्नुपर्ने आवाज उठेको छ ।

सभामुख ओनसरी घर्तीको सभापतित्वमा बसेको बैठकमा सांसद रश्मी ठाकुरले जनता सिटामोल नपाएर मरिरहेको बेला पूर्व विशिष्ट तथा नेताहरु उपचारका लागि विदेशका मंहगा अस्पताल धाउनु गलत भएको बताइन् ।

आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेको दुई दिनपछि यो विषय संसदमा प्रवेश गरेको हो ।

सांसद ठाकुरले पूर्व विशिष्ट व्यक्तिले स्वदेशमा उपचारको व्यवस्था हुँदाहुँदै पनि विदेश जानुको अर्थ के भनी प्रश्न गरिन् । उनले सर्वसाधारणको उपचार स्वदेशमा हुने तर, विशिष्टको किन नहुने भन्दै विशिष्टले विदेशमा गर्ने उपचार खर्चले स्वदेशमै सुविधाजनक अस्पतालको व्यवस्था गर्न सकिने धारणा राखिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर तथा एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड उपचार गराउन गएका बेला उनले विदेश उपचार गर्न जाने नेता तथा विशिष्ट व्यक्तिलाई राज्यको ढुकुटीबाट एक रुपैयाँ समेत नदिन सरकारसँग माग गरिन् । ‘जनता, नेता तथा विशिष्टहरु सबै मानिस नै हुन् । जनताको जस्तोसुकै उपचार पनि देशमै हुने तर, नेताहरुको मात्र किन हुँदैन् ?’ उनले प्रश्न गरिन् ।

यसअघि मन्त्री नियुक्त भएलगत्तै स्वास्थ्य मन्त्री गगन थापाले उपचार गर्न विदेश गएका आफ्नै पार्टी सभापति देउवालाई च्यालेञ्ज गर्दै उपचार गर्न रोक्ने घोषणा गरेका थिए ।

उनले आफूलाई जति नै ठूलो रोग लागेपनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा पनि गरेका थिए । ‘कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो । तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नुपर्छ,’ उनले भनेका थिए ।

नेपालकै अस्पतालमा राम्रो उपचार हुनसक्ने तर्क गर्दै उनले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने बताएका थिए ।

 



Read More: स्वास्थ्यमन्त्री गगन थापाको प्रस्ताव संसदमा पुग्यो, देउवादेखि ओलीसम्म मुछिए!

No comments:

Post a Comment