रोचक सामग्री


खोजी

Thursday, February 18, 2016

‘मोजाको फुटबलमै पनि गोल लगाउँथे नवयुग’

थाहा छैन मान्छेको जीवनबारे प्रारब्धमा लेखिएको हुन्छ या हुँदैन। तर यति चाहिँ भन्न सकिने रहेछ कि जीवनमा कतै पुग्नु छ भने त्यसका लागि सपना जरुर देख्न सक्नुपर्छ। अनि त्यो सपना पछ्याउने दृढ अठोट र पसिना बगाउने संकल्प त चाहियो नै। मेरो बालसखा नवयुग श्रेष्ठले आज मारेको छलाङ त्यही सपना र पसिनाको सम्मिश्रण हो।

आज हाम्रो नवयुग राष्ट्रिय हिरो छ। यति धेरै फुटबललाई माया गर्ने दर्शक भएर पनि दुई दशकसम्म एउटा ट्रफी जित्न नसकेको राष्ट्रिय टोलीमा नवयुगको आगमनसँगै नयाँ वहार आएको छ। पछिल्लो एक महिनाको अन्तरालमा दुई/दुई वटा प्रसिद्द अन्तर्राष्ट्रिय ट्रफीमात्र त्रिभुवन विमानस्थलबाट भित्रिएको छैन एउटा सामान्य नेपाली ठिटोले विदेशी भूमीमा तीन पटक ह्याट्रिक समेत गरिसकेको छ।

यसरी नवयुगलाई २५ वर्षको उमेरमा आज सारा देशले चिनेको छ। मेरा लागि भने नवयुग आज चम्किएको हैन। नवयुगमा त्यही बेला आजकै जस्तो चमक थियो जतिवेला हामी अविभावकको आँखा छलेर कुनै काँल्ला मूनी गुच्चा खेलिरहेका हुन्थ्यौँ। अलिक अल्लारे उमेर भएपछि साँझतिर टर्च लाइट र गुलेली गोजीमा हालेर कालिज सिकार खेल्न बाँसघारी चाहारी रहेका हुन्थ्यौँ।

इलामको मंगलबारे स्थित तल्लो बुधबारेमा हाम्रो घर। मेरो भन्दा तीन काँल्ला तल्तिर नवयुगको घर। उमेरले भने मभन्दा तीन महिनाले नवयुग जेठो। नाताले हामी र उनीहरुको परिवारबीच मितेरी साइनो। तर त्यो साइनो भन्दा प्रगाढ हाम्रो मित्रता। तोते बोली फुट्दा पहिलो चोटी भाँडाकुटी खेलेको साथी। आफूले भनेको नमान्दा चिमोटाचिमोट गरेको साथी। तर एकछिन टाढा भयो कि खप्नै नसकेर भेट्न पुगिहाल्नु पर्ने साथी।

स्कुल जाने उमेर नहुन्जेल दिनभरि सँगै खेलेर बिताइयो। स्कुल जान थालेपछि भने दिउँसो भरिका लागि टाढा हुनु पर्‍यो। मलाइ अविभावकले भानुभक्त उच्च माविमा भर्ना गरिदिनु भयो। नवयुग सुर्योदय शिक्षा सदन जान थाल्यो। बिहान वेलुका साथै भइन्थ्यो। पुराना कपडा, प्लाष्टिक या मोजालाई डोरीले कसेर गोल बनाएर खेल्न थालेको त्यही बेला हो हामीले।
पछि छ कक्षाबाट नवयुग पनि भानुभक्त नै आयो। अब त अहोरात्र साथै हुन थालियो। हाम्रो खेल्ने समय पनि बढेको थियो। साथै उसको र हाम्रो खेल कौशल पनि बदलिइसकेको थियो। एउटै उमेर, बच्चा देखि सँगै खेलेको भनेर नहुँदो रहेछ। मोजाकै गोल बनाएर खेल्दा पनि उ हामीलाई फनफनी घुमाउँदै छक्याउने भै सकेको थियो।उसको औपचारिक फुटबलको डेब्यु चाहिँ ११ वर्षको उमेरमा छ कक्षा पढ्दा भएको हो। मंगलबारेमा उदिप क्लव भन्ने थियो। त्यसैले वर्षेनी दसैंको अवसर पारेर जुनियर फुटबल आयोजना गर्थ्यो। उचाइ चार फिट १० इन्च र तौल ५० केजी भन्दा कम तौल हुनेले मात्र त्यसमा भाग लिन पाउँथे। त्यसमा पश्चिम इलामका अधिकांश स्कुले टिम सहभागी हुन्थे। नवयुगले छ कक्षामा पढ्दानै भानुभक्तबाट उक्त प्रतियोगिता खेलेको थियो।

उसका बुवा चन्द्रकेशर भानुभक्तकै शिक्षक हुनु हो। उहाँले पनि ‘सानै छस् नखेल हउ’ भन्दा पनि मानेर र जिद्दी गरेर भानुभक्तको टोलीमा पर्यो। चन्द्रकेशर दाइ (धेरै अग्रज भए पनि पारिवारिक नातामा नवयुगको बुबा मेरो दाइ पर्नुहुन्छ) आफैं पनि युवा छँदा जिल्लाकै नामी फुटवल खेलाडी भएको हुँदा उसले धेरै जिद्दी गरेपछि रोकावट गर्नु भएन।

त्यसबेला उक्त प्रतियोगिता खेल्न आएका सबै टिमका खेलाडी भन्दा सानो थियो नवयुग। भानुभक्तको पहिलो प्रतिस्पर्धी आङ्दाङ निमावि थियो। नवयुगले त्यो टिमलाई पहिलो खेलमानै पाँच गोल हान्यो। कुल सात गोल हानेर भानुभक्तले खेल जितेको थियो। यसरी युवा उमेरमै डेब्यु खेलमा नवयुगले ह्याट्रिक गरेको थियो। अरुवेला नवयुगसँगै मोजाको गोल खेल्ने साथी हामी भने दर्शक दिर्घामा बसेर हुटिङ गर्थिम्।

नवयुगको खेल उकालो लाग्दै गयो। भानुभक्तबाट सहभागी भएर जिल्लाभर खेल्न थाल्यो। आठ कक्षामा पढ्दा इलाम जिल्लाको टोली अन्तर जिविस कपमा सामेल भयो। जिल्लाको टिममा भानुभक्तबाट नवयुगसँगै मनोज लिम्बु पनि परेका थिए। मनोजले पछि फुटबल करियरलाई निरन्तरता दिएनन्। त्यसबेला जिविस कपमा इलामको मुख्य स्ट्राइकर नवयुग नै थियो। उ टिममा भएको बेला इलामले लगातार दुई पटक जिविस कप जित्यो।

जिविस कपको आयोजना अखिल नेपाल फुटबल संघले गर्थ्यो। त्यसैले त्यहाँ जिल्लाबाट खेल्न आउने विद्यार्थीलाई एन्फाको ट्रयाकसुट दिने चलन थियो। गाउँ फर्के पछि त्यो ट्रयाकसुट लगाएर उसले हामीलाई ‘एक दिन राष्ट्रिय टोलीबाट खेल्छु र यो ट्रयाकसुट मात्र होइन राष्ट्रिय जर्सी नै लगाउँछु’ भनेको थियो। त्यहि सपनाले उसलाई आजको यो उचाइमा पुर्याए झैँ लाग्छ, जहाँ हामीलाई समेत नवयुगको वालसखा भन्न पाउँदा भन्दा गर्वले छाती फुल्छ।

स्कुलमा नेपाली विषयमा महान् खेलाडी पेलेको जीवनी पढेपछि उ फुटबल प्रति झनै मोहित भएको थियो। किताबमा ‘पेलेले सानो छँदा मोजाको बल बनाएर बजार या भिडभाडमा कसैलाई नछुवाइँ खेलाउँदै लैजान्थे’ भनेर लेखिएको छ। त्यसरी खेलाउन कसरी सम्भव होला भनेर उ हमेसा सोचिरहेको हुन्थ्यो।

स्कुल अवधिभर उ पढाइमा पनि तेज थियो। ११ कक्षा सुरु गरे पछि भने फुटबल प्रति नै बढी केन्द्रित हुन थाल्यो। स्कुल पढुन्जेल फुटबल खेल्न बाहिर जाँदा दुई/तीन सातासम्म पढाइ छुटे पनि उ तुरुन्तै ‘कभर’ गर्न सक्थ्यो। चन्द्रकेशर दाइ फुटबलमा छोराले सफलता हात पारेकोमा खुसी सँगै उसको पढाइ प्रति भने धेरै चिन्तित हुनुहुन्थ्यो। उहाँ आफ्नै उदाहरण दिएर खेलेर मात्र जीवन धान्न सम्भव नहुने भएको हुँदा कुनै न कुनै इलम समाउन पढ्नै पर्छ भनेर हरबखत सम्झाउनु हुन्थ्यो। नवयुग भने जस्तोसुकै कठिन अवस्था आइलागे पनि बुबाको पेशा शिक्षण चाहिँ अँगाल्दिन भन्दै अड्डी लिन्थ्यो।

त्यसो भन्ने गरे पनि पनि फुटबल मात्र होइन हाजिर जवाफ लगायतका प्राज्ञिक प्रतिस्पर्धामा पनि उ अब्बल थियो। खेलमा फुटबलका अलावा क्रिकेट पनि निकै राम्रो खेल्थ्यो। क्रिकेट प्रतियोगिताहरुमा भने स्थानीय टिमबाट उसँगै मैले पनि सामेल हुने मौका पाएका छु।

नवयुग कसैसँग अनावश्यक रुपले दब्न मान्दैनथ्यो। गाउँमा माओवादी विगविगी हुँदा समेत डराउनुको साटो उल्टो धम्की दिन्थ्यो। ‘म पछि आर्मी भएर माथिबाट हान्छु, तिमीहरु तलबाट हान्नु, हेरम्ला कसले ढाल्ने रैछ’ भन्दै बाज्थ्यो माओवादी मिलिसियासँग।

उसलाई सानै देखि रफ गेटअप मन पर्थ्यो। र उसको एउटा शौक थियो कपाल पाल्नु। ९/१० कक्षामा पढ्दा कपाल पाल्न थालेको पनि थियो। त्यसबेला माओबादीले दिएनन्। माओवादीसँग रिसाउने मुख्य कारण त्यही थियो उसको। आर्मीमा भर्ती भएपछि त्यहाँको नियमले कपाल पाल्न पाइएन। यसरी उसको एउटा सौख भने अधुरै रह्यो।

हामी उसलाई मायाले काले भन्थ्यौँ। उसको वर्णको आधारमा कालो भनेको हैन। भगवान कृष्णलाई जस्तै मायाले काले पुकार्ने गर्थ्यौँ। प्लस टु पढ्न थाले पछि नवयुगलाई फुटबल खेल्न मंगलबारेको त्रिवेणी युवा क्वलका अग्रज दाइहरुले धेरै हौसला प्रदान गर्नुभयो। त्यसबेलाको त्रिवेणीका खेलाडी विक्रम श्रेष्ठ अहिले मंगलबारे खेलकुद समितिको अध्यक्ष नै हुनुहुन्छ।

उहाँहरुले सानो कद र सानै उमेरको भए पनि नवयुगलाई आफ्नो टिममा सहभागी गराउनुहुन्थ्यो। ९/१० कक्षामा पढ्दा धेरै फुच्चे भए पनि चाडबाडको अवसरमा जिल्ला स्तरमा आयोजना हुने फुटबल प्रतियोगिताहरुमा अन्तिम १०/१५ मिनेटका लागि भए पनि अग्रज दाइहरुले उसलाई खेल्ने मौका दिनु हुन्थ्यो।

हामी प्लस टु पढ्दा रविमा भएको फुटबल प्रतियोगिताको फाइनलमा मंगलबारे र दमकको ध्रुवतारा युवा क्लव पुगेका थिए। त्यसमा मंगलबारे बिजयी भएको थियो। त्यसबेला पूर्वमा निकै कहलिएको झापाली टिमलाई हराउने मंगलबारेको टोलीमा ११ कक्षा पढ्ने कलिलो र खिरिलो युवा नवयुग पनि सदस्य थियो। शरीर सानो भए पनि उ ठूला ज्यान भएका खेलाडीसँग जोगिएर र छक्याउँदै खेल्न माहिर थियो। आज पनि उसको यही कलाले विभिन्न देशका होनाहार डिफेन्स र गोलकिपरहरु माथ खाइरहेका छन्।

प्लस टु पछि म बीबीएस पढ्न झापा तिर लागेँ। नवयुग फुटवलमा करियर खोज्न काठमाडौँ हान्नियो। सुरुमा आशातित अवसर पाएन। सी डिभिजन क्लवबाट खेल्न अफर आएछ। त्योभन्दा त गाउँमै घाँस काट्छु भनेर फर्किएको थियो। त्यसपछि आर्मीमा लाग्यो। त्यहीबाट उसको अहिलेको यात्रा तय भएको हो।

आर्मीबाट खेल्न थालेको झन्डै पाँच वर्षपछि मात्र उसको नाम सबै फुटबलप्रेमीलाई थाहा भयो। किनभने सुरुमा आर्मीका प्रशिक्षकहरुले नवयुगलाई मिडफिल्डमा खेलाए। तर वास्तवमा उसको कला भनेको स्कोरिङ हो। ‘डि बक्स एरियामा बल पाएपछि गोल बाहेक अरु केहि देख्दिनँ’ भनेर उ हामीसँग भन्ने गर्थ्यो। तर उसको त्यो क्षमता चिन्न देशलाई पनि लामै समय लाग्यो। र, स्ट्राइकिङबाट जब उसले आफ्नो क्षमता देखाउने मौका पायो रत्तिभर नचुकी मुलुकको शिर ठाडो पार्दै आएको छ।

पछिल्लो पटक एक वर्षअघि म कोरिया आउने बेला काठमाडौँमा भेट भएको थियो। अहिले त उ धेरै व्यस्त हुन्छ। बेला बेला फेसबुक च्याटमा कुरा हुँदा उसले एउटै सपना सुनाउँछ, फुटबलमा राष्ट्रको नाम अझ उचो बनाउने। म परदेशबाट उसको त्यही सपना साकार हुने कामना गरिरहन्छु हमेसा। हर बखत।
(दक्षिण कोरियामा कार्यरत भट्टराई नवयुगका बालसखा हुन्)


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment