रोचक सामग्री


खोजी

Thursday, February 18, 2016

भारतको जेएनयुमा के भएको हो? बुझ्नैपर्ने चार कुरा

राज्यद्रोहको अभियोगमा भारतको जवहरलाल नेहरु विश्वविद्यालयका एक  विद्यार्थीलाई पक्राउ गरिएपछि भारतीय मिडियामा मात्र होइन, अन्तर्राष्ट्रिय मिडियामा समेत यो विषयको प्रमुखताका साथ कभरेज भैरहेको छ। यो घटनाका अनेक ‘ट्विस्ट’ र ‘टर्न’ छन्, तर यसको पृष्ठभूमि के थियो र अहिले यो मुद्दा कहाँ पुगेको छ? सर्च इन्जिन गुगलमा यसबारेमा खुब खोजी हुन्छ। सर्च भएका मुख्य प्रश्न र तिनको उत्तर समेटेर वाल स्ट्रिट जर्नलले तयार पारेको रिपोर्टको भावानुवादः

जेएनयु मुद्धा के हो?

विवाद फेब्रुअरी ९ बाट सुरु हुन्छ। त्यस दिन नयाँ दिल्लीस्थित जवहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीले २०१३ मा मृत्युदण्ड दिइएका अफ्जल गुरुको स्मृतिमा कार्यक्रम गरेका थिए। अफ्जल गुरु तिनै व्यक्ति हुन्, जसलाई २००१ मा भारतीय संसदमा भएको आक्रमणमा संलग्न भएको अभियोगमा दोषी ठहर गरी मृत्युदण्ड दिइएको थियो।

कार्यक्रमको भिडियोमा एउटा समूहले नारा लगाइरहेको देखिन्छ जहाँ उनीहरुले “काश्मिरलाई स्वतन्त्र नगरिएसम्म हामी संघर्ष जारी राख्नेछौँ” लगायतका नारा लगाएका छन्। उनीहरुले “इन्डियाको विनास नभएसम्म हामी लड्नेछौँ” भनेर कराइरहेको पनि भिडियोमा सुनिन्छ।

उक्त विरोध कार्यक्रमको अखिल भारतीय विद्यार्थी परिषदका सदस्यहरुले विरोध गरेका थिए। अखिल भारतीय विद्यार्थी परिषद् सत्तारुढ भारतीय जनता पार्टीको विद्यार्थी संगठन हो। प्रधानमन्त्री नरेन्द्र मोदीका कतिपय मन्त्रीहरुले उक्त कार्यक्रमलाई “अराष्ट्रिय” भन्दै सहभागीहरुमाथि कानुनी कारबाही गर्न माग गरेपछि परिषदका सदस्यहरु पनि राजनीतिक आरोपप्रत्यारोपमा उत्रिएका थिए।

गत शुक्रबार प्रहरीले राज्यद्रोह मुद्दामा कन्हैया कुमारलाई पक्राउ गर्‍यो। कन्हैया कुमार जेएनयु स्टुडेन्ट्स युनियनका अध्यक्ष हुन्। समर्थकहरु नारा लगाउने उनी नभएको दाबी गर्छन्। उनीहरु भन्छन- सरकारको आलोचना र सत्तारुढ बिजेपीको हिन्दु राष्ट्रवादसँग सैद्धान्तिक मतभेदका कारण उनलाई टार्गेटमात्र बनाइएको हो।

अफ्जल गुरु को हुन्?

अफ्जल गुरु कश्मिरी पृथक्तावादी हुन्। २००१ मा भारतीय संसद आक्रमणमा संलग्न भएको अभियोगमा दोषी ठहर गरी २०१३ मा उनलाई मृत्युदण्ड दिइएको थियो। यो आक्रमणमा १४ सर्वसाधारण र पाँच आक्रमणकारी मारिएका थिए।

काश्मिरका धेरै बासिन्दाहरुको के विश्वास गर्छन् भने गुरुलाई मृत्युदण्ड दिइएको उक्त घटनाको निष्पक्ष अनुसन्धान गरिएन। भारत र भारतीय सेनासँग बढेको दुरीलाई यसले झन् बढायो, भारतीय कदमलाई उनीहरु “बर्बर” भन्छन्। काश्मिरमा १९९० को दशकमा पाकिस्तानको सहयोगमा हिंसात्मक विद्रोह भएको थियो।

गुरुको मृत्युदण्डले काश्मिरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपहरु बढायो। झडपहरुमा कयौँको मृत्यु भयो भने सयौँलाई पक्राउ गरियो। गुरुको शव उनको परिवारलाई दिइएन, कारागारमै खाल्डो खनेर गाडियो, जसका कारण काश्मिरमा बलेको आगोमा झन् घिउ थपियो।

भारतको राज्यद्रोह कानुन के हो?

भारतीय दण्ड संहिताको धारा १२४ ‘ए’ ले विवादास्पद राज्यद्रोह कानुनको परिभाषा गरेको छ। यसले बोलेर वा लेखेर सरकारविरुद्ध  घृणा फैलाउनुलाई रज्यद्रोह मानेको छ। यो कानुनअन्तर्गत अधिकतम जन्मकैद हुने व्यवस्था छ। १९ औँ शताब्दीमा ब्रिटिस उपनिवेशले भारतीय स्वतन्त्रता संग्राम दमन गर्न यो कानुन जारी गरेको थियो। १९२२ मा भातका पिता भनिने महात्मा गान्धीले यो कानुनलाई नागरिकको अधिकार हनन गर्न बनाइएको भन्ने गर्थे।

१९४७ मा भारत स्वतन्त्र भएपछि पनि यो विवादित कानुन रहिरह्‍यो। २०१२ मा कार्टुनिस्ट असिम त्रिवेदीलाई पनि यही कानुन अन्तर्गत मुद्दा चलाइएको थियो।

यो कानुनलका समर्थकहरुका अनुसार यो भारतको एकतालाई जोगाउन र पृथक्तावादीहरुलाई तह लगाउन हतियार हुन सक्छ। तर वाक तथा अभिव्यक्ति स्वतन्त्रता अभियान्ता तथा कतिपय भारतीय सांसदहरु अख्तियारको दुरुपयोग रोक्न कानुन खारेज गर्नुपर्ने वा यसको क्षेत्राधिकार घटाउनुपर्ने बताउँछन्।

के जेएनयु वामपन्थी हो?

भारतका वामपन्थी पार्टीसँग जोडिएका सबै विद्यार्थी संगठन र युनियनहरु जेएनयुमा सक्रिय छन्। जस्तो कि अखिल भारत विद्यार्थी महासंघ। महासंघले समाजवादी भारत निर्माणको पक्षमा वकालत गर्छ। यस्ता समूहहरु भारतीय जनता पार्टीको खुलेर आलोचक गर्छन् तथा उसको सिद्धान्तमा फरकमत राख्छन्।

तर भाजपासँग जोडिएका संस्थाहरु जस्तो कि कट्टरपन्थी हिन्दु संस्था राष्ट्रिय स्वयंसेवक संघ वा अखिल भारतीय विद्यार्थी परिषदका सदस्यहरु जेएनयुको आलोचना गर्छन्। उनीहरुको आरोप छ, जेएनयुका विद्यार्थीहरु भारतको हिंसात्मक नक्सलवादी आन्दोलन र काश्मिरको पृथक्तावादी मागलाई समर्थन गर्छन्।

जेएनयुको मुद्दाले अहिले भारत हल्लिएको छ। राजधानी नयाँ दिल्लीको बाह्रखम्बा रोडमा आज विरोध प्रदर्शन भएको थियो। पहिलोपोस्टका उमेश श्रेष्ठले त्यहाँ भएको प्रदर्शनका केही फोटो खिचेका छन्-


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment