काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु ठिक २४ घण्टाअघि त्यस भ्रमणबारे ‘फन्नी’ टिप्पणी गरेका छन्। सिंहदरबारस्थित आफ्नै कार्यलयमा आयोजत पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणको विषयमा जानकारी त गराए तर अजेण्डा र पछिल्लो राजनीतिक अवस्थाबारे रमाइला टिप्पणी गर्न भुलेनन्।
यसरी प्रस्तुत भए प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले भारत भ्रमणमा आफूले मित्रता, सहअस्तित्व र पारस्परिक सहकार्यको भाव लिएर जान लागेको उल्लेख गरे। ‘ म खाली डोको लिएर डोकाभरी केही लिएर आउँछु भनेर जान लागेको होइन’, ओलीले भने।
भ्रमणका क्रममा हैदरावाद हाउसबाट भारतीय प्रधानमन्त्रीसँगै रिमोटबाट ढल्केबर मुजफ्पुर प्रसारण लाइनको उद्घाटन गर्न लागेका ओलीले नेपालमा पानी धमिलिन्छ कि भन्ने भारतीय चिन्ता हटाउने आश्वासन व्यक्त गरे। ‘भारतलाई नेपालले केही बिगारदिन्छ कि पानी धमिल्याएर तलतिर पठाउँछ कि भन्ने पिर छ। त्यो पिरमा हामी भन्ने छौँ – यहाँ कुनै पानी धमिलिने छैन, पानी आनन्दले जस्तो छ त्यस्तै बग्न दिन्छौँ, हिउँदमा सङ्गलो, बर्षामा धमिलो।’
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट मुलुकलाई कुनै नोक्सान नहुने र लाभ नै प्राप्त हुने बताए। ‘मित्रता प्राप्त गर्नु नै सबैभन्दा ठूलो लाभ हुन्छ। अरु कुराहरुको विषयका धेरै तयारी र दुरगामी सहमति र सम्झौता गर्न खोजिरहेका छैनौ। पहिले विश्वासको आधार निर्माण गर्नुपर्यो। अलिकति भत्किएको जग राम्रोसँग निर्माण गर्नुपर्यो’, उनको भनाई थियो।
कसैको पक्षमा कार्ड खेल्दैनौँ
भारतले नाकाबन्दी लगाएपछि परराष्ट्र मन्त्री स्तरमा चीनसँग पेट्रोलिमय व्यापारलाई दीर्घकालिन बनाउन प्रोत्साहन गर्ने लगायत आठ बुँदे समझदारी भएको थियो। साथै सरकारले चीनतिरका नाका सुचारु बनाउने लगायतका निर्णय गरेको थियो। तर भारत भ्रमण अघि प्रधानमन्त्री ओलीले आफूले कुनै चिनियाँ कार्ड नखेल्ने बताए।
‘पहिलो कुरा त- हामी कसैको पक्षमा, कसैको विपक्षमा कार्ड खेल्दैनौँ। त्यसमा पनि न म तासवाला हो न जुवावाला हो। यो कार्ड सार्डमा म विश्वास गर्दिन।’
‘हाम्रा दुई वटा दुईतिरका छिमेकी छन्। भूगोल, विकास र जनसंख्याका आधारमा हामी भन्दा अगाडि छन्। हामी दुवैसँग मैत्रिपूर्ण सम्बन्ध कायम राख्न र बनाउन चाहान्छौं। पारस्परिक सद्भाव र लाभका आधारमा अगाडि बढ्न चाहान्छौं। कार्डको कुरा होइन’, उनले अगाडि भने।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले डिप्लोमेसीलाई भन्दा व्यवहारमा विश्वास गर्ने बताए।
‘यो सरकार डिप्लोमेसीमा होइन इमानमा विश्वास गर्छ, डिप्लोमेसीमा होइन मित्रतामा विश्वास गर्छ, यो परिस्कृत भाषामा होइन, स्तरिय व्यवहारमा विश्वास गर्छ त्यसकारण यो त्यसैगरी प्रस्तुत हुन्छ। यसले कार्ड प्रयोग गर्ने भन्ने होइन। इमान्दारीका साथ मित्रतापूर्ण सम्बन्ध र एउटाका विरुद्ध अर्कालाई र कसैका विरुद्ध कसैलाई पनि प्रयोग गर्दैन। देशका हितका निम्ति काम गर्छ’, प्रधानमन्त्रीको ब्याख्या थियो।
अजेण्डा विहीन भ्रमण झन् गह्रुङ्गो
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण अजेण्डाविहीन भएको स्वीकार गर्दै अजेण्डा नहुनु नै गह्रौं अजेण्डा भएको टिप्पणी गरे।
‘म खाली डोको भिरेर डोकोभरी केहि ल्याउँ भनेर जान लागेको होइन। अजेण्डाविहीन भ्रमण हुनु नै सबैभन्दा गह्रङ्गो अजेण्डा हो। अहिलेको परिस्थिति भारी बोक्ने होइन। अहिलेको अवस्था त्यसभन्दा धेरै माथिको परिस्थिति हो। जटिलताले परिस्थितिलाई यस्तो बनाएको छ’, प्रधानमन्त्रीको स्पष्टोक्ति थियो।
पत्रकारले सोधेको नेपाल भारतबीचका सीमा समस्या लगायतका प्रश्नमा ओलीले अहिले कुराकानी गर्ने समय नभएको बताए।
‘नेपाल र भारत छिमेकी भएको हुनाले छिमेकीका समस्या त छिमेकी कै बीचमा हुने भए’, उनले भने, ‘सँगै सुतेपछि खुट्टा बोकायो, किन खुट्या बोकायो भनेपछि निन्द्रामै बोकाएछु भन्यो भने त सिद्धियो त। त्यसमा फेरि थपेर किन निदाएको थिइस् त भन्न पाँइदैन। हाम्रा बीचमा केही पेण्डिङ इस्यु छन्। पुराना समस्या होलान्। ती सबै समस्या अहिले समाधान गरिहाल्ने बेला होइन। यो बेला ती समस्या पनि समाधान हुने वातावरण निर्माणको दिशामा उन्नतस्तरको मत्रिता उन्नत्त स्तरको समझदारीका प्रयासहरुका लागि व्यवहारिक ढंगले अनुकुल वातावरण मिलाउने बेला हो।’
काँडो झिकेपछि पनि केही समय दुखिरहन्छ
प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीलाई काँडासँग तुलना गरे। उनले नाका सहज भएपनि पेट्रोलियम अभाव भएको विषयमा सोधिएको प्रश्नमा छिट्टै समाधान हुने विश्वास गरे। भारतको रक्सौल नाकाबाट दैनिक रुपमा नेपालले २६ लाख लिटर पेट्रोलियम लोड गर्न भनेपनि भारतले १६ लाख लिटर मात्र लोड गरिरहेको छ। साथै राजधानी लगायतका कयौं स्थानमा पेट्रोलियम अभाव यथावत् रहेको छ।
‘कस्तो हुन्छ भने काँडो बिझिहाल्यो भने निकालेपछि पनि अलिक समय दुख्छ। यो सायद त्यस्तै हो। यो धेरै लामो अवधि चाहिँ जाँदैन। यो सल्टिन्छ र अगाडि बढ्छ’, प्रधानमन्त्रीले भने।
के भारतले संविधानको स्वागत गर्छ?
नेपालको संविधान संवैधानिक रितको आवश्यकता भन्दा बढी ९२ प्रतिशतको साथमा लोकतान्त्रिक प्रक्रियाबाट जारी भएको संविधान भन्दै प्रधानमन्त्रीले संविधानको तारिफ गरे।
भारतले नेपालले आफ्नो सुझाव नमानी हतार हतारमा संविधान जारी गरेको आरोप लगाउँदै आएको छ। प्रधानमन्त्रीले ओलीले समय तोकेरै भोटिङ भएको र एक सातासम्म चलेको उदाहरण पत्रकार सम्मेलनमा दिन भुलेनन्।
संविधानको स्वागत भारतले गर्छ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने – ‘हामीले संशोधन गरेपछि संशोधनलाई भारतले स्वागत गरिसकेको छ।’
तर पत्रकारहरुले संशोधनपछि पनि भारतले पोजेटिभ भनेको तर स्वागत नगरेको प्रसङ्ग उठाएपछि उनले आफ्नो वाकपटुता प्रयोग गरे।
‘अब मान्छेले श्रीमती पनि भन्न सक्छ, जहान पनि भन्न सक्छ र परिवार पनि भन्न सक्छ। शब्द के के हुन्छ यसको पछाडि पनि जानु हुँदैन। श्रीमानलाई लोग्ने भनेपछि हुन्छ अझ घरका मात्र पनि भन्ने चलन छ। कतिपयले हाम्रा बाहुन पनि भन्छन्’, प्रधानमन्त्रीले उदाहरण दिँदै भने, ‘संविधानबाट निर्वाचित प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा आमन्त्रण गरेपछि संविधानलाई मान्यता दिएको नदिएको प्रश्न फेरि बाँकी रहन्छ र? के सोध्न जाने संविधानलाई मान्यता दिएको नदिएको?’
उनले अब नेपाल र भारतबीचको सम्बन्धमा असझदारी सुल्टिसकेको दावी गर्दै फेसो छ भनेपछि ठोक्नेभन्दा पनि परिस्थितिलाई सहजता तर्फ लैजानुपर्ने आवश्यकता औँल्याए।
‘तपाँइ गएर के चाहिँ गर्नुहुन्छ र सम्बन्ध सामान्यीकरण हुन्छ?’, भन्ने पत्रकारको प्रश्नमा ओलीले जवाफ फर्काए ‘म भारतलाई उहीँ छाडेर नेपाल आउँछु, म मित्रता मात्रै बोकेर आउँछु।’
उनले आफूलाई भारतले मित्रताकै निम्तो बोलाएको दावी समेत गर्न भुलेनन्।
बाँकी NEPAL123.COM मा पढौं
No comments:
Post a Comment